Latest Updates :

जिन्स पाइन्ट लगाउन नदिएको भन्दै आमासँग मिलेर छोरीहरुले गरे बाबुको हत्या

SHARE THIS POST :

एजेन्सी । एक भारतीय प्रहरी अधिकारीको हत्याको आरोपमा उनकी पत्नीसहित चार जना छोरीहरु पक्राउ परेका छन् । रिपोर्टका अनुसार जिन्स पाइन्ट लगाउन नदिएको निहुँमा उनीहरुले भाडाका अपराधीहरुलाई हत्या गर्ने जिम्मा दिएका थिए । सब इन्सपेक्टर मेहरबान अलीको शव भारतको उत्तर प्रदेशमा नालीमा आइतबार फेला परेको थियो । उक्त स्थान अलीको घरबाट मात्र २५० मिटर टाढा रहेको थियो ।


हत्याका लागि ‘कन्ट्रयाक्ट किलर’ लाई प्रयोग गरेको स्वीकार गरेपछि प्रहरीले ५२ वर्षीया जाहिदा बेगमसहित छोरीहरु साबा (२६), जिनत (२२), इराम (१९) र आलिया (१८) लाई शाहाजाहँपुरमा रहेको उनीहरुको घरबाट पक्राउ गरेको छ । अलीको शव फेला परेपछि गरिएको अनुसन्धानको क्रममा सो क्षेत्रमा लगाइएको सिसिटिभीको फुटेज हेरेपछि यो हत्या प्रकरण पर्दाफास भएको प्रहरीले जनाएको छ ।


सादर बजार प्रहरी थानाका इन्सपेक्टर दया चन्द शर्माका अनुसार आमा र छोरीहरु अलीको कडा नियम र पाबन्दीका कारण रुष्ट थिए । अलीले उनीहरुलाई जिन्स पाइन्टसम्म लगाउन दिँदैन थिए । ‘घरबाट मात्र २५० मिटर टाढा शव भेटिएपछि हाम्रो पहिलो शंका परिवारकै सदस्यमा थियो,’ शर्माले भने, ‘हामीले परिवारका सदस्यहरुको कल रेकर्डहरु चेक गर्दा जाहिदाले नियमित रुपमा एउटा नम्बरमा कल गरेको पायौँ ।’


प्रहरीको अनुसन्धान अनुसार शनिबार बिहान १० बजे ड्युटी सकेर अली १० बजेर ४५ मिनेट जाँदा घर पुगेका थिए । ‘भाडाका हत्याराहरु तासिन र इशान त्यसपछि घरमा प्रवेश गरेको र १ बजेतिर हत्या भएको पाइएको छ,’ उनले भने, ‘त्यही साँझ उनीहरु फेरि फर्किए र परिवारको मद्दतमा शवलाई मोटरसाइकलमा लगेर नालामा फालिदिए ।’


‘शव बरामद भएपछि हामीले त्यसक्षेत्रको सिसिटिभी क्यामेराहरु जाँच गर्यौँ जहाँबाट यो मुद्दा समाधान गर्न मद्दत मिल्यो,’ उनले भने । त्यसपछि जाहिदासँग केरकार गर्दा उनले अपराध गरेको स्वीकार गरिन् । उनीहरुले करिब डेढ लाख रुपैयाँमा अपराधीहरुलाई भाडामा लिएका थिए । जसमध्ये आधा रकम घरमा राखिएको अलीको तलबबाट र बाँकी काम भएपछि दिने उनीहरुबीच सम्झौता भएको थियो ।


प्रहरीका अनुसार जाहिदाले अलीको हत्या पछि पाउने क्षतिपूर्ती र पेन्शनबापतको रकम आशा गरेकी थिइन् । यता, बाबुको कडा नियमबाट आजित भएका छोरीहरुले पनि आमाको साथ दिएका थिए । उनीहरुमध्ये एकले बाबुको स्थानमा जागिर पाउने आशा पनि गरेका थिए । ‘बाबुको निधनपछि जेठी छोरीले प्रहरीमा जागिर पाउने थिइन् भने आमाले क्षतिपूर्ती र पेनशन रकम पाउने थिए,’ शर्माले भने ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. online news nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger