जनकपुरधाम, ७ जेठ -जनकपुर अञ्चल यातायात कार्यालयमा कार्यरत एक कर्मचारीले सेवाग्राहीलाई मरणासन्न हुनेगरी कुटपिट गरेका छन् ।
यातायात कार्यलयमा कम्प्युटर अपरेटरका रूपमा कार्यरत कर्मचारी राकेश यादवले महोत्तरीको भंगहा नागरपालिका सीतापुरका २१ वर्षीय सेवाग्राही जगदिश महतोलाई मरणासन्न हुनेगरी कुटपिट गरेका हुन् ।
मोटरसाइकलको लाइसेन्स (सवारी चालक अनुमतिपत्र) लिन पुगेका महतोलाई यादवले कुटपिट गरेका हुन् । उनको अनुहारसहित शरीरका विभिन्न अंगमा चोट लागेको छ ।
सवारी चालकको अनुमतिपत्रका लागि आवेदन दिएपछि यादवले महतोको नाम उल्लेख हुनुपर्नेमा अर्कै व्यक्तिको नाम रहेको भौचर थमाएपछि विवाद भएको थियो । त्यसक्रममा यादवले महतोमाथि कुटपिट गरेका हुन् ।
‘ढोका खोल्दै यादवले मलाई भित्र लगेर उफ्री-उफ्री कराँते स्टाइलमा कुटपिट गरे,’ घाइते सेवाग्राही महतोले भने ।
‘एक त कर्मचारीले गल्ती गरेर मेरो नामको साटो अर्को व्यक्तिको नामको भौचर थमाए, भोकप्यास नभनी ६ घण्टा लाइन लागेँ, तर ढोका खटखटाउँदा बेहोसै हुनेगरी कुटपिट गरियो,’ महतोले भने ।
घाइते अवस्थामा रहेको आफूलाई प्रहरीले पनि अस्पताल नपुर्याएको उनले बताए ।
गाउँकै साथी सुरज पाण्डेले अटो रिक्सामा राखेर उनलाई जनकपुर अञ्चल अस्पताल पुर्याएका छन् । महतोको उपचार भइरहेको छ ।
Post a Comment